तपोवनमा नौला पाहुना – Gunaraj jee’s article in Nagarik News about Bihar CM Nitish Kumarjee’s stay at Tapoban

तपोवनमा नौला पाहुना – Gunaraj jee’s article in Nagarik News about Bihar CM Nitish Kumarjee’s stay at Tapoban
काठमाडौं –यहाँको राजनीतिसँग गहिरो चासो र प्रभाव राख्ने उनले अहिलेसम्म काठमाडौं भने टेकेका थिएनन् । युगौंको ‘रोटीबेटी’ सम्बन्ध र सीमाले जोडेको आत्मीयतालाई उनी नजिकैबाट स्पर्श गर्न चाहन्थे तर मौका जुरिरहेको थिएन। भारत, बिहारका मुख्य मन्त्री नीतीशकुमारले संयोगवश कांग्रेसको पाहुना बनेर बुधबार त्रिभुवन विमानस्थल टेके । कांग्रेसको तेह्रौं महाधिवेशनको आतिथ्यभन्दा अविस्मरणीय बन्न पुग्यो, उनको एक रातको राजधानी बसाइ।

यी ‘नौला पाहुना’ को सत्कारमा द्वारिका होटलको ‘सुइट रुम’ बुकिङ गरिएको थियो तर उनी त्यहाँ गएनन् । राजधानीको उत्तरतर्फ तपोवनको हरियालीमा उनले यो रातलाई मनमौजी बनाए ।
बुधबार विमानस्थल झरेको केही बेरमै उनको मुड फेरिएको थियो,  जहाँ उनले भेटे कलेज जीवनका हितैषी सहपाठी । चार दशकपछि देख्दा पनि ती नेपाली मित्रलाई उनले टाढैबाट चिनिहाले । भिड छिचोल्दै उनले बोलाए– अरुण ! अरुण, अर्थात् ओशो तपोवनका सञ्चालक स्वामी आनन्द अरुण । अरुण र नीतीशबीच अचानकको त्यो भेट ४२ वर्षपछिको थियो ।

सोही साँझ नीतीशलाई स्वागत गर्न कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा लैनचौरस्थित भारतीय दूतावास पुगे जहाँ नीतीश र अरुण दालरोटी खाँदै कलेज जीवनका स्मृति ताजा पार्दै थिए। नेताद्वयले नीतीशलाई ¥याडिसन होटल जान आग्रह गरे जहाँ कांग्रेसले उनको सम्मानमा रात्रिभोज आयोजना गरेको थियो । नीतीशले आफूले रात्रि खाना लिइसकेको भन्दै ¥याडिसन जान असमर्थता जनाए।
पौडेल र देउवाको जोड चलेन । नीतीश उनै अरुणसँग तपोवनतिर पो लागे । पटना इन्जिनियर कलेजमा नीतीश इलेक्ट्रिक इन्जिनियरिङ र स्वामी अरुण सिभिल इन्जिनियरिङका विद्यार्थी रहेछन्, उति बेला । त्यहीँ उनीहरूको मित्रता झाँगिएको रहेछ। नीतीशसँगै तपोवन जानेमा भारतीय राज्यसभा सदस्य केसी त्यागी पनि थिए । दशकौंपछि भेट हुँदा ‘भिआइपी’ हैसियत बनाइसकेका मित्रको सत्कारमा अरुणले कुनै कसर बाँकी राखेनन् । उनलाई सुत्न आफ्नै कोठा छाडिदिने सुरमा थिए । तर, नीतीशले मानेनन्।

‘भोलि बिहान नुहाउन तातोपानी आउने कोठा भए मलाई पुग्छ,’ उनलाई उद्धृत गर्दै स्वामी अरुणले नागरिकसँग भने, ‘मलाई यति धेरै सुबिस्तामा निद्रा लाग्दैन ।’ त्यसपछि उनी अर्कै कोठामा सुत्न गए ।
भारतीय राजदूत रञ्जित रेले सुरक्षा र ‘डेकोरम’ कारण देखाउँदै तपोवनमा बस्न उचित नभएको पटकपटक सम्झाए । उनी रातिसम्मै नीतीशलाई तपोवनबाट द्वारिका होटलै लैजाने प्रयत्नमा थिए । तर, नीतीशले मानेनन् । तपोवनमै बसे । बिहान साढे ६ बजे तपोवन पुग्दा त्यो डाँडो पूरै सुरक्षाकर्मीले घेरिएको थियो।

एक घन्टा योग र आधा घन्टा ध्यान नीतीशको प्रातःकालीन दैनिकी रहेछ । उनका सहयोगी राजेशकुमारका अनुसार त्यसपछि उनी पूरै पाँच घन्टा किताबमा घोत्लिन्छन्, अनुशासित विद्यार्थीजस्तै । त्यति गरिसकेपछि ९ बजे अफिस जान तयार हुन्छन् । नीतीश र त्यागी बाहिर नआउन्जेल स्वामी अरुण ओशो संन्यासीसँगै ध्यानकेन्द्रबाहिर उनको प्रतीक्षा गरिरहेका थिए । केही बेरमै उनीहरू निस्किए । ओशोको मूर्तिमा फूल चढाए अनि सामूहिक तस्बिर खिचाए।

त्यसपछि नीतीश लागे, स्वामी अरुणको आवास तथा अफिसतिर । त्यहाँ उनले मुक्तकण्ठले रानीवन (ओशो तपोवन) को प्रशंसा गरे । त्यहाँ उभिएर साथी अरुणसँग तस्बिर खिचाए । अनि आगन्तुक पुस्तिकामा वर्षौंपछिको ‘मित्रमिलन’ लाई भावनाका उत्ताल तरंग दिए– ‘तपोवन आश्रममा आएर अत्यन्तै प्रसन्नता भयो । आश्रम संस्थापक अरुणजी मेरा सहपाठी र मित्र हुन् । कलेजको पढाइ पूरा गरेपछि एकआपसमा भेट हुने अवसर प्राप्त भयो । लगभग ४२ वर्षपछि भेट्न पाइयो ।’

वास्तवमा नीतीशलाई अरुणसँग बिताएका कलेज जीवनको ‘नोस्टाल्जिया’ ले तपोवनसम्म डोहो¥याएको थियो । यो प्रिय अवसरसामु उनलाई होटलको सुविधा फिका लाग्यो । नेता पौडेल र देउवा, राजदूत रेको आग्रह पनि ठूलो लागेन । भेटमा यी मित्रले कलेज दिनमा खिचेका श्यामश्वेत तस्बिर हेरेर पुराना सम्झना बाँडे । स्वामी अरुणले आफूलाई ओशोकहाँ लैजान खोजेको र आफूले अरुणलाई नेता जर्ज फर्नान्डेजकहाँ लैजान तानातान गरेको प्रसंग सम्झिए ।

नीतीश प्रेससँग धेरै बोल्न तयार थिएनन् । उनले कांग्रेस महाधिवेशनमा पाँच मिनेट बोल्ने प्रतिक्रिया दिए । भारत, बिहार नेपालको यति नजिक भएर पनि किन अहिलेसम्म नआउनुभएको ? यसमा पनि उनको छोटो प्रतिक्रिया थियो । ‘नआउनुमा मेरो कुनै गल्ती छैन,’ उनले मुस्कुराउँदै भने, ‘तपाईंलाई थाहै छ, पहिले जोसुकै जहाँसुकै जान सक्थे, अब त धेरै औपचारिकता छन् । यसको चर्चा म किन गरूँ !’
अवसर पाएका भए उनी कांग्रेस नेता एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निधनका बेला पनि नेपाल आउन चाहन्थे । उनी अहिले संयोगले आउन पाउँदाको खुसी लुकाउन सकिरहेका थिएनन् ।
‘पहिलोपटक आउने मौका मिल्यो, धेरै खुसी छु,’ उनले भने– ‘यो बन्धन टुट्यो, अब पटक–पटक आउँछु ।’

भारतीय राजनेता तथा नेपाली सन्त तथा आध्यात्मिक व्यक्तिबीचको यो सान्निध्य अनौठो होइन । भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन राजा महेन्द्रको राज्याभिषेकमा भाग लिन आउँदा विमानस्थलबाट सिधै शिवपुरी बाबालाई भेट्न गएका थिए । बिहार मात्र होइन, भारतकै राजनीतिमा प्रभाव पारिरहेका नीतीशको यो भेट पनि सम्झनलायक रहेको ओशो तपोवनका संन्यासी बताइरहेका थिए ।
बिहीबारै स्वदेश फर्कने योजना बनाएर आएका नीतीशलाई राजनीतिक भेटघाट र पशुपति दर्शनको चटारो पनि थियो ।

उनले मित्र अरुणसँग बिदा मागे । अरुणले उनलाई मित्रताको चिनो ‘घडी’ दिए । उनले यो पनि लिन मानेनन् । ‘म पनि कमाइ गरिरहेको छु, यो मित्रको चिनो लिनुपर्छ,’ अरुणले जोड गरे । नीतीशले भने, ‘तपाईं उतै (बिहार) यो लिएर आउनुहोला ।’
तारे होटलको ‘सुइट’ सुविधा छाडेर नीतीश आफूसँगै तपोभूमिमा बसिदिँदा स्वामी अरुण हर्षले गदगद थिए । ‘यो त भगवान श्रीकृष्ण र सुदामाको भेटजस्तो भयो,’ उनले भने ।


Share this Post:

Related Posts: