Sw Anand Arun Article in Kantipur Daily – नयाँ मनुष्यताको जन्मथलो

Sw Anand Arun Article in Kantipur Daily – नयाँ मनुष्यताको जन्मथलो

ओशो तपोवनले रजतजयन्ती मनाइरहेको छ । काठमाडौंको नागार्जुन वनभित्र अवस्थित यो तपोस्थली आजको भागदौडले आक्रान्त आधुनिक युगका लागि एक शान्त विश्रामस्थली हो । पहिला हामी जब यहाँ आएका थियौं, दिउँसै चितुवा विचरण गथ्र्यो । पूर्वाधार केही थिएन । पानी, बिजुलीको व्यवस्था थिएन । पहिला खोरका रूपमा प्रयोग भएका कोठाहरूलाई सरसफाइ गरेर बस्नलायक बनाएर सुरु भएको यो आश्रमले आफ्नो भौतिक पूर्वाधारलाई कायाकल्प गर्दै अहिले अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्रको पहिचान बनाइसकेको छ । यसले १०८ मुलुकका पर्यटकहरूलाई आफूतिर तानिसकेको छ भने नेपालमा ८० र विश्वका अन्य मुलुकहरूमा ७० ध्यान केन्द्र, आश्रमहरू यसको आध्यात्मिक प्रेरणा नेतृत्वमा खडा भएका छन् ।

कुनै पनि वस्तु जबसम्म जीवन्त हुन्छ, त्यसको विकास हुँदै जान्छ । जीवनको पहिचान पनि यही हो- निरन्तर विकास । तपोवनको निरन्तर विकास यसको जीवन्तताको प्रमाण हो । नेपालमा ओशोका ७० हजारभन्दा बढी दीक्षित संन्यासी छन् भने करिब ३ लाख सक्रिय पाठकहरू छन् । तपोवनले रजत जयन्ती मनाउनु तपोवनसँग प्रत्यक्ष जोडिएका सबैका लागि गौरब र आत्मसन्तोषको कुरा हो ।

गरिब देशहरूमा कुनै पनि संस्थालाई अक्षुण्ण चलाइरहनु साहसिक कुरा हो । जुट्नेभन्दा फुट्ने विखण्डनवादी संस्कारले मलजल पाएको मुलुकमा यति ठूलो संस्थालाई अघि लैजाँदै विस्तार गर्नु सहज छैन । विपन्न देशमा कुनै पनि संस्थाले लामो समय धान्न निकै कठिन छ । यस परिप्रेक्ष्यमा गहन समझका साथ आफ्नो सांसारिक दायित्व पनि पूरा गर्ने र आध्यात्मिक गहिराइ पनि छुन प्रयत्नरत करिब एक लाख अवैतनिक स्वयंसेवकहरूको भौतिक तथा आर्थिक सहयोग तथा हितैषीहरूको मायाका कारण आज हामी यो अवस्थामा आइपुगेका हौं ।

भविष्यको मनुष्यबारे ओशोको परिकल्पना छ । उहाँले के देख्नुभयो भने यो युगका केही विशेषताहरूका कारण परिवारको परम्परागत दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ । पश्चिममा करिब ५० प्रतिशत व्यक्तिहरूको परिवार टुटेको र त्यसले गर्दा मानिस एक्लिएको अवस्था छ । महत्त्वाकांक्षाको पहाड बोकाउने असन्तुलित शिक्षा प्रणाली र बजारी अर्थतन्त्रले मानिसमा असीमित इच्छाहरूका साथै अहंकार पनि बढाएको छ । अतिशय इच्छाहरूले मानिस विक्षिप्त छ भने अहंकारले गर्दा एउटै छाना र एउटै भान्छामा खाएर बस्न बिस्तारै कठिन हुँदै गइररहेको छ । जब म बच्चा थिएँ, मेरो गाउँका घरमा ६०-७० जनाको खाना पाक्थ्यो एउटै भान्छामा । हजुरबुबा, हजुरआमा, काका-काकी, सन्तानहरू सबै एउटै भान्छामा खान्थे, मिलेर बस्थे । अहिले विवाह हुनासाथ दाजुभाइहरू छुट्टन्िछन् । बाबुछोरा मिलेर बस्न सक्दैनन् । समय नै यस्तो आइपुग्यो । यसलाई राम्रो या नराम्रो भनेर यो समस्या समाधान पनि हुँदैन ।

ओशोले के देख्नुभयो भने मानिस एक सामाजिक प्राणी भएकाले एक्लै बस्न सक्दैन तर समाज विखण्डनतिर पनि अग्रसर छ । मैले यो सामाजिक विखण्डनले ल्याएको भित्री रिक्तता पश्चिमी मुलुकहरूमा झनै गहिरो देखेको छु । चाहना र बानी फरकफरक भएकाले मानिस न मिलेर बस्न सक्छ, न त एक्लै । अहंकारका कारण मिलेर बस्न सक्दैन, भावनात्मक रूपले एक्लै पनि बस्न सक्दैन । ओशोको दृष्टिमा साधनामा आधारित मन मिल्ने मानिसहरू सँगै बस्ने कम्युनको भविष्य छ । उहाँले यो कुरा आजभन्दा ५० वर्ष पहिले भन्नुभएको थियो । सुरुमा यो सुन्दा कस्तो कुरा होला भनेर हाँस्थ्यौं । तर आज विश्वको परिस्थिति हेर्दा यसको महत्त्व बुझ्दै गइरहेको छु ।

आज जुन अमेरिकामा भइरहेको छ, त्यो भोलि युरोपले पछ्याउँछ, पर्सि एसियाले । एसियाका विकसित देशहरू जापान, चीन, कोरिया या भारतले तिनैको नक्कल गर्छन् । हामी पनि भारत र चीनको नक्कल गर्ने छौं । यो समयको कुरा मात्रै हो । अझ विकृतिहरू छिर्न त धेरै समय लाग्ने छैन र त्यसलाई कसैले रोक्न पनि सक्दैन । त्यसकारण आउने ५०-६० वर्षभित्र हाम्रो समाजको नियति पनि यही हो । अहिले हामीलाई यो कुरा पत्यार नलाग्न सक्छ । पारपाचुकेले हाम्रै देशमा महामारीको रूप लिइरहेको छ । अविकसित क्षेत्रहरूमा पनि यो तीव्र गतिले बढिरहेको छ । नवयुवकहरूको विदेश जानुपर्ने बाध्यताले पनि पारिवारिक सम्बन्धहरू टुटिरहेको छ । यसको विकल्पको बाटो ‘कम्युनिटी लिभिङ’ हो । हामी त्यसलाई कम्युन भन्छौं । तर मानिसहरूमा कम्युन शब्दले कम्युनिज्ममा भयावह, अमानवीय इतिहास बोकेका कम्युनको स्मरण गराउने रहेछ । तर फलामे अनुशासनमा एकै दर्शनमा ढालिएको कम्युनको यो कुरा होइन । मैले नजिकैको चीनका कम्युनको भ्रमण गर्ने मौका पाएको थिएँ । त्यहाँका मानिसको अनुहारमा मैले कुनै किसिमको खुसी, उल्लास, उत्साह देखिनँ । त्यहाँ नियन्त्रित वातावरणमा एक किसिमको उदासी र भय छाएको देखियो ।

ओशोले मानिसको व्यक्तित्व स्वतन्त्रताको अधिकतम रक्षा गर्दै कम्युनको स्थापना गर्नुभयो । व्यक्तिको स्वतन्त्रता नै कम्युनको मूल आधार हो । को कसरी जिउँछ, त्यसको निर्णय गर्ने अरू कसैलाई अधिकार छैन, त्यो व्यक्तिले स्वयं आफैं गर्नुपर्छ । तर स्वतन्त्रताको पूर्ण उपभोगका बीच पनि एक गहिरो अनुशासन चाहिन्छ । यो एक अनुपम परिकल्पना हो ओशोको । साधारणत: मानिसहरूलाई यो कुरा बुझ्न गाह्रो छ । ओशोको जीवनकालमै उहाँले बनाउनुभएको कम्युनमा बस्न पाएकामा म आफूलाई भाग्यमानी ठान्दछु ।

कडा कानुनले बाँधेर भन्दा पनि मानिसको स्वतन्त्रताको सम्मानमा आधारित सहज कम्युनिटी लिभिङले भविष्यलाई बचाउने छ । एकै छानामुनि खाऔं, योग गरौं, ध्यान गरौं, भजन गरौं । यदि मनुष्यको अहिलेको मनोवृत्ति हेर्ने हो भने यो सानो कदम होइन । हामीले तपोवनमा भित्री र बाहिरी दुवै सुविधाहरू जुटाएका छौं । साधना पनि गर्छौं र भौतिक सुखसुविधाबाट वञ्चित पनि छैनौं । यो एक कठिन र दुर्लभ उपलब्धि हो । मानिसको निजीत्व हनन नगरी उसलाई पूर्ण सम्मानका साथ प्रामाणिक जीवन जिउने प्रयासमा मद्दत पुर्‍याउने कम्युनहरूले नयाँ मनुष्यको उदयको सम्भावना खोलेका छन् । यो बडो धैर्य र तपस्या हो । हामी भविष्यको संसारको मोडेल बनाइरहेका छौं । अहिलेसम्म साकार हुन नसकेको भविष्यको यो मोडेलले सफलताको २५ खुड्किलो चढेकामा म आह्लादित छु ।


Share this Post:

Related Posts: