जब जोगीलाई देश दुख्छ…. Very well written article by Gunaraj Luitel in Setopati.com

जब जोगीलाई देश दुख्छ…. Very well written article by Gunaraj Luitel in Setopati.com

यस्तो अवस्थामा हामी ओम् ओम् मात्रै भनेर बसौं?

स्वामी आनन्द अरूणलाई अन्य सन्यासीहरूले प्रश्न सोधे– होइन हामी ध्यान गर्ने मानिसले किन राजनीति र आर्थिक विषयमा गोष्ठी गर्नुपर्‍यो?
‘समाज सम्पन्न नभएसम्म धर्म पनि पाखण्ड हुन्छ,’ उनले आफ्ना गुरु भाइहरूको प्रश्नको जवाफमा भने।
र, उनको योजना अनुसार नै ओसो सन्यासी र पाहुनाहरूले ध्यान केन्द्रमा शनिबार अपरान्ह ‘डाइनामिक’ ध्यान होइन मुलुक चिन्तन गरे। चिन्तन श्रृंखलालाई मुख्य सचिव लीलामणि पौडेल र उद्योगपति/व्यवसायी उपेन्द्र महतोले कार्यपत्र प्रस्तुत गरेर अघि बढाए।
यी दुई कार्यपत्रलाई संश्लेषण गर्दै स्वामी अरुणले विपन्नतामा धर्म पनि फस्टाउन नसक्ने तथ्य अघि सारे। विपन्न समाजको सदस्य पशुपति दर्शन गर्न जाँदा पनि छोरालाई मालदार ठाउँमा सरुवा गरिदेऊ भन्न जाने उदाहरण दिए।
‘गरिबीमा मानिसले मुक्ति होइन सम्वृद्धिका निम्ति प्रार्थना गर्छ,’ अरुणले भने– ‘त्यसैले अध्यात्म र भाैतिकता दुबै चाहिन्छ। भौतिकताले अध्यात्म र अध्यात्मले भौतिकतालाई मद्दत गर्छ।’प्रत्येक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने बेलामा रुन मन लाग्ने उनले बताए। संसारका ‘संसारका १० निकृष्ट विमानस्थलको कुरा गर्दा हाम्रो विमानस्थलको नाम आउँछ,’ उनले भने– ‘संसारका सबैभन्दा खतरनाक १० एअरलाइन्सको कुरा गर्दा पनि हाम्रै नाम लिइन्छ। त्रिभुवन विमानस्थलमा आएपछि हेर्‍यो आफ्नै एअरलाइन्स बाहेक संसारका अरु विमान कम्पनीका मात्र जहाज देखिन्छ।’
 
प्रकृतिले सम्पन्न मुलुकको नागरिकका रूपमा जन्माए पनि १६ घण्टा लोडसेडिङमा बस्न बाध्य भएको चर्चा गर्दै स्वामीले अब राजनीतिलाई मात्र दोष दिएर अरु पढेलेखेका बुद्धिजीवीले टुलुटुलु हेरीबस्नु उचित नभएको बताए।
 
‘सय जनाले बाटो बन्द गर्छन्, सय जनाले कारखाना बन्द गर्छन्, सय जनाले आगो लगाउँछन्, हामी टुलुटुलु हेर्छौं, यसको पाप हामीलाई पनि लाग्छ,’ उनले भने।
 
देशमा राणा शासन हट्दा सन् १९५० मा दक्षिण कोरियाको प्रति व्यक्ति आय एक सय ५० अमेरिकी डलर भएका बेला नेपालको एक सय ७० रहेको तथ्य उल्लेख गर्दै स्वामी अरुणले भने– त्यो बेला संसारका १ सय ७० मुलुक बराबर नेपालको हैसियत थियो।
 
उनले अहिले मुलुकमा १ सय ५६ वटा दल खुले पनि परिवर्तनपछि १ सय ५६ वटा कारखान खुल्न नसकेको बताए। बरु मुलुकमा प्रजातन्त्र आएपछि तीन हजारभन्दा बढी कारखाना बन्द भएको उल्लेख गरे।
 
२०४६ सालसम्म एसियामै सबैभन्दा राम्रो विमानमध्ये नेपालको पनि रहेको चर्चा गर्दै उनले त्यसयता मुलुककै राम्रा सिमेन्ट कारखानासमेत बन्द गराइएको बताए। ‘हामीले बितेका २५ वर्षमा आफ्नो कार्यकर्तालाई कारखानाको प्रबन्धक बनायौं,’ उनले भने– त्यसपछि हामीले उद्योग बन्द गराउँदै गयौं। विकास होइन हामी ब्याक गियरमा हिड्न थाल्यौं।’
‘यस्तो स्थितिमा हामीले ओम् ओम् मात्र भनेर बसौंं?’ स्वामीले प्रश्न गरे– ‘ध्यान मात्रै गरेर बस्न हाम्रो हृदयले मानेन्।’
गाउँमा जलविद्युतसम्बन्धी एउटा परियोजना लिएर जान खोज्यो भने स्थानीय युवालाई मोटरसाइकल किनिदिनु पर्नेदेखि नेताहरुलाई समेत पाल्नुपर्ने नकारात्मक स्थितिको चर्चा गर्दै डलर खेती भनेर निरुत्साहित पार्ने अवस्थाको समेत स्वामीले चर्चा गरे।
बैंक खाता खोल्न नागरिकता चाहिने स्थितिले विदेशीलाई यहाँ आएर काम गर्न अप्ठ्यारो भएको पनि उनले बताए। अमेरिकामा निश्चित रकम लिएर जानेले स्वतः ग्रिनकार्ड पाउने स्थितिको पनि उनले चर्चा गरे।
 

संघीयता प्राथमिकता होइन

दलका नेताहरूबाट मुलुकको विकासको अजेन्डा सुन्न नपाएको उल्लेख गर्दै स्वामी अरुणले अहिले विकास भन्दा सात कि दश प्रदेश भन्नेमै अल्झिएको बताए।
उनले यो मुलुकमा गरिबी रहेसम्म संघीयता प्राथमिकताको विषय नभएको पनि बताए। ‘प्रति व्यक्ति आय ५ हजार अमेरिकी डलर होस् र दैनिक २ हजार ४ सय क्यालोरी खाना खान पाएपछि बल्ल कति प्रदेश भयो भन्ने छलफल गर्न दिऔं न,’ उनले भने– ‘यस्तो अवस्थामा मुलुकलाई धर्म निरपेक्ष बनाएपछि जसले पेट भरिदिन्छ त्यसैको धर्म मान्न थाल्छन् नागरिकले।’
 
अहिले मुलुकका प्रमुख चार दल कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाले विकासलाई प्राथमिकतामा नराखेको उनले चर्चा गर्दै यी दललाई नागरिक र प्रेसले अहिले जति गाली गरे पनि भोट हामीलाई नै हाल्छन् भन्ने परेको बताए।
 
तर, अहिलेका नेताहरूको योग्यता जेलमा बसेको मात्र भएकोले यिनले अन्य काम गर्न नसक्ने समेत उनले बताए। ‘जेलमा बसेको मानिसले राष्ट्रलाई सम्वृद्ध बनाउँदैन बरु राष्ट्रलाई नै जेल बनाइदिन्छ,’ अरुणले भने– ‘हाम्रा नेताहरूलाई लड्न, तोडफोड गर्न आए पनि निर्माण गर्न आउँदैन।’
 
‘अब रगत बगाउन के जरुरी छ?,’ स्वामी अरूणले प्रश्न गरे– ‘पसिना बगाउनु होस्।’
अहिलेका नेताहरूलाई संग्रहालयमा राखेर अन्य सिर्जनशील नेताहरूले काम गर्नुपर्ने सुझाव समेत स्वामी अरुणको थियो। जुन नेताले प्रविधि होइन भाषण गर्न मात्र जानेका छन् तिनले मुलुकलाई अगाडि लैजान नसक्ने पनि उनको ठहर थियो।

खतरनाक दिन आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अच्छे दिन आएंगे’ भनेर आशा देखाए पनि यहाँ एकजना नेताले पनि यो आशा देखाउन नसकेको उनले बताए। अझ संविधान बनेपछि खतरनाक दिन आउन लागेको तर्फ पनि उनले सचेत गराए।
 
संविधान नभएर विकास नरोकिएको बरु संविधान आएपछि जातीयताका कुराले समाजलाई ठूलो हानी पुग्नेस्थितिको उनले चर्चा गरे।
 
‘भारतमा अंग्रेजले दुई सय वर्ष शासन गर्दा २० हजार मानिस मरेनन् तर मुलुक स्वतन्त्र भएपछि मोहम्मद जिन्ना र जवाहरलाल नेहरुले शासन गर्दा  दुई महिनामा जातीयताकै कारण २० लाख मानिस मरे,’ अरुणले भने– ‘राज्यलाई जातीयताका आधारमा बाँडेपछि कहाँ पुगिएला?’
 
सबै जात, भाषा र संस्कृतिप्रति उत्तिकै सम्मान भए पनि दलहरूलाई सामाजिक सद्भावसँग मतलब नभएको उनले बताए। ‘राजनीति गर्नेहरूलाई जसरी हुन्छ शक्तिमा पुग्न पाए भयो,’ उनले भने– ‘म पीडा बोलिरहेको छु।’
 
इच्छा शक्ति हुने हो भने ६ महिनामा सोलार र विण्डबाट समेत बिजुली निकालेर समस्याको समाधान गर्न सकिने भए पनि कमिसन धेरै नआउने भएकोले यो काम नभएको उनले बताए।
 

संविधान आएपछिका निराशा

मुख्य सचिव लीलामणि पौडेलले संविधान आएपछि सर्वसाधारणका अपेक्षा पूरा नहुँदा आउने निराशा झन् खतरनाक हुने बताए। ‘यो नागरिकका निराशा छताछुल्ल पार्ने कडी हुुनेछ,’ उनले भने। गैर आवासीय नेपाली नेता उपेन्द्र महतोले समेत संविधान आएपछि सबै समस्या समाधान हुन्छन्, सबै धनी हुन्छन् भन्ने अपेक्षा पूरा नभएपछि निराशा आउने बताए।
 
मुख्य सचिव पौडेलले समाजको मानसिकता मोज गर्नुपर्छ भन्ने भएपछि त्यसले कहाँ पुर्‍याउला भन्ने प्रश्न गरे। त्यसैले आध्यात्मिकता पनि विकाससँगै आवश्यक हुनेमा उनले जोड दिए।
नेता खराब भएकाले केही भएन भन्ने मानसिकता त्याग गर्न र मैले नै देशको विकास गर्ने हो भन्ने भावना राख्न पौडेलले आग्रह गरे। समाज पूर्वीय चिन्तनमा आधारित भए पनि पश्चिमा ढाँचाको विकास अँगाल्न खोज्दा विसंगति देखिएको पनि उनले उल्लेख गरे।
राजनीतिले चेतना ह्वात्तै बढाएको र त्यसले व्यक्तिमा विकास चाँडै होस् भन्ने अस्थिरताको भावना आएको उनले बताए। हिंसाले समाजलाई निर्मम पनि बनाएको र हिंसाबाटै सबै स्थापित हुन्छ भन्ने मान्यता बढेको पनि उले उल्लेख गरे।
‘हिंसा होइन करुणाबाट प्राप्त उपलब्धि दिगो हुन्छ,’ उनले भने।
पौडेलले विदेशी नखोजी र कसैको सयगोग नमागी देशभित्रैबाट दुई वर्षमा साक्षरता हासिल गर्न सकिने, चार लाख मानिसलाई अहिलेकै अवस्थामा पढाउन सकिने, सार्वजनिक र निजी स्कुललाई बराबर अवस्थामा पुर्‍याउन सकिने उदाहरणसमेत दिए।

धनी र गरिबबीचको खाडल

उद्योगपति/व्यवसायी उपेन्द्र महतोले समाजमा धनी र गरिबबीचको खाडल बढ्दो रहेकोले यसले समाजमा द्वन्द्व रहिरहने बताए। यसमा सरकार र नागरिक समाज अहिलेदेखि सचेत सुझाव उनको थियो।
 
‘मसँग पैसा छ, मेरो पहुँच पनि छ भनेपछि मैले सबै व्यवसायमा हात हाल्न पाउँछु,’ उनले भने– ‘तर मध्यमवर्गीय व्यापारीहरू यसरी अघि बढ्न पाउँदैनन्। तिनले अघि बढ्न पाएनन् भने हाम्रो समाजको अन्त्य छिट्टै हुन्छ।’
 
पहिले गाउँमा एउटा धनी मानिस छ भने उसको सुरक्षा सबैले गरिदिन्थे भने अहिले गरिबको बीचमा एउटा धनी बाँच्न सक्ने अवस्था नरहेको उनले बताए। ‘भोको पेटमा भजन हुँदैन,’ उनले भने– ‘पेट भर्ने कुरा कसरी गर्ने?’
 
उनले यो समस्याको समाधान नगर्ने हो भने भारतलाई अंग्रेजबाट मुक्त गराउने राजनीतिक नेताहरू विरुद्ध अहिले आम आदमी पार्टीका रुपमा युवाहरूले ल्याएको विजयलाई हेर्न पनि उनले आग्रह गरे।
 
आजको समाजमा धनी भए पनि पाप गेको् वा चोरेको हो कि भन्ने चर्चा हुने गरेको उल्लेख गर्दै महतोले ओसोलाई उदृत गर्दै भने– गरिबी समाजको पापै हो।
 
त, मुलुकको विकास अरुले आए गरिदेला भनेर हुँदैन आफैैं थाल्नुपर्छ भन्ने सन्देश थियो। ‘यो देशमा नेताहरूले गरेनन् भन्छन्,’ उनले भने– ‘गल्ती हाम्रो हो। उहाँहरू विध्वंश गरेर आउनु भएको निर्माण गर्न सक्नु हुन्न।’
 
नेपाली समजले आफूहरूलाई दिएको हुनाले त्यसलाई दिनका निम्ति तयार हुनुपर्ने सुझाव उनको थियो। उनले मर्ने बेलामा होइन अहिलेदेखि नै सक्दो सहयोग गर्दै जानुपर्ने बताए। ‘यो बुझिराखौं कात्रोमा खल्ती हुँदैन,’ उनले भने।
 
हामी नेपालीले नै देशको विकास नगर्ने हो भने अर्कोले आएर केही गरिदिँदैन। नेपालीले नै उद्यम नगर्ने र विदेशी कम्पनीलाई लगानीकर्ताको रुपमा भित्र्याउने हो भने त्यसले नोकर मात्र बनाउनेमा पनि उनले सजग गराए। ‘हामीले तिनलाई मालिक होइन साझेदार बनाएर ल्याउन सक्नुपर्छ,’ उनले भने।
‘अब यो मुलुकलाई धेरै रगत र सहिद चाहिएको छैन,’ महतोले भने।
 
उनले जलविद्युतको विकास गर्न बिजुली सरकारले किन्ने वा भारतमा बेच्नका निम्ति आवश्यक व्यवस्था सरकारले मिलाउनु पर्ने आग्रह गर्दै एकजना मन्त्रीले संविधानसभाको काम हेरे पनि बाँकी सबैले विकासको काम अघि बढाइरहनु पर्ने सुझाव समेत दिए।
 
‘यो देश बन्छ भनेर हामी सबै दृढता पूर्वकलाग्ने हो भने चाँडै विकसित हुन्छ,’ उनले भने– ‘हामीले आजै संकल्प गरौं– म यो देश बनाउँछु।’
 

जेलभित्रको जिन्दगी

समाजमा गरिब र धनीबीचको खाडल बढ्दै जाँदा धनीहरूको जिन्दगी कैदीको जस्तै हुने धारणा मुख्य सचिव पौडेलले व्यक्त गरे। ‘धेरै ठूलो घर बनाएपछि त्यसले पाँचवटा ताला लगाएर सुत्नु पर्छ,’ उनले भने– ‘अनि आफैंले बनाएको जेलभित्र बस्नु पर्छ। भूकम्प आइहाल्यो भने पनि ताला खोल्न पनि नभ्याउँदै त्यो मानिस च्यापिएर मर्छ।’
 
‘हाम्रो देश प्रति व्यक्ति सबैभन्दा धेरै पर्खाल भएको देश पनि हो,’ पौडेलले भने– ‘अरु समाजमा ठूल्ठूला पर्खाल चाहिन्न। तर, हामीकहाँ जति धनी त्यति ठूलो पर्खाल लगाएर त्यसभित्र बस्नु पर्ने हुन्छ।’
 
 

 गुणराज लुइँटेल

प्रकाशित मिति: शनिबार, फाल्गुण २, २०७१ २२:०९:४९


Share this Post:

Related Posts: